Book in Momento - Seto Dharti

 



सेतो धर्ती ताराको कथा हो।७ वर्षकी तारा र उनको बहिनीको एकै लगनमा बिहे हुन्छ उनलाई आफ्नो बिहे भएको कुरा पत्तै हुँदैन।ताराले आफ्नो बिहेलाई उनको बालसखा गोबिन्दले माटोको सिन्दुर लगाइदिएर गरेको बिहे जस्तो लाग्छ, कच्चा,ख्यालख्यालको बिहे भएको दुई वर्षमै उनको श्रीमान् बित्छन, उनलाई आफू विधवा भएको पनि थाहा हुदैन। उनलाई आफ्नो पति बितेको भन्दा आफ्नो रातो लुगा खोसीएको र कपाल मुडिएकोमा शोक लाग्छ, उनलाई त मनमनै आफ्नो जन्म घर जान पाईने कुराले खुसी पनि तुल्याउँछ। काथाले विधवा तारालाई बाल्यकाल देखी प्रौंण अवस्था सम्म पछ्याउछ। विधवा भई माईती आएको केहि बर्ष मानै प्रसव पिडा खेप्न नसकि उनको आमाको मृत्यु हुन्छ।

दुदे बालक काखमा छोडिर गएकि आमाको भुमिका ताराले निभाउनु पर्छ। सानो भाईले कुकुर्नीको थुन चुस्दै उसलाई आमा मानेको प्रसंगले तारालाई मात्रृत्त्वको आभास दिन्छ।उनी सन्तान नै नजन्माई आमा पनि बन्छिन्। उनका बुबाले समयमा ११ बर्ष बालीकालाई उनको सैतेनी आमाको रुपमा भित्राउछन्। तरुण उमेरका बालिका सौतेनी आमा र ठुलो भाईको नज्दिकीले तारालाई डर र सैतेनी आमा प्रति कड्कता बढाउछ, जसले गर्दा घरमा धेरै मनमुटाब हुन जान्छ।ताराको खल्लो जीवनमा मिठास यमुनाको पेर्म पुर्वक जीवनले गर्छ। यमुना र उनको श्रीमान् को प्रेम प्रसङ्गले तारालाई रोमान्चक बानाउछ, र आफ्नो जिवनको खल्लो पनलाई भर्छ, उनि छेडिक समयकालाई आफु विधवा भएको पनि बिर्सीन्छिन र आफुले पाउन नसकेको परिवारीक सुख संग जोड्छिन। परिवारले उनलाई वेवास्था गर्न थाले पछि उनी देवघाट जाने मानसिकता बनाउछिन र कसैले खोजकाज नगरे पछि रुँदै देवघाट जान्छिन।

 देवघाटमा उनको भेट उनकि बालसखा पवित्रा संग हुन्छ। पवित्रा र तारा दुवै बालविधवा भएपनि उनिहरुको जीवन गाथा भिन्न धारमा चल्छ र एकै बिन्दुमा आएर जोडिन्छ।पवित्राले आफु बेश्या भएर समेत काम गरेको प्रसँग जोड्दा तारा अतिनै क्रोधीत हुन्छिन र उनको मनमा वैचारिक द्वन्द मच्चिन्छ, विभिन्न मनोवाद चल्छ। आफ्नो जिवन संग पवित्राको जिवनलाई जोडि हेर्दा उनलाई आफ्नो सोच र कोर्ध प्रती ग्लानी हुन्छ। अन्त्यमा उनलाई समाजको संग जुध्ने महिलाको होईन सामाजीक मानसिकताको दोस प्रष्ट हुन्छ। चतना नै सर्वमान हो भन्ने कुरा पाठकलाई अनुभुत गराउँछ।

पहिलो पटक यो किताब पढ्दा मेरी हजुरआमा श्रोता हुनु हुन्थ्यो, कति ठाँउमा उहाँ भक्कानिएर रुनु भयो, म पनि संगै रोए। कति ठाँउमा सुक्कसुक्क गर्नु भयो मैले सम्झाएँ। कति ठाँउमा यो समाजलाई सराप्नु भयो म सुनीरहे र पुस्तक पढीरहें। मेरी हजुरआमाको विहे हुँदा तारा जस्तै उहाँ ७ वर्षकी हुनुहुन्थो  र हजुरबुबा ताराको पति जस्तै १४ बर्ष। बिहे भएको ७ बर्षमा उहाँले पहिलो सन्तान जन्माउनु भयो २ दिनको प्रसव पिडा पछि। उहाँले औला भाच्दै गन्नु भयो र भन्नु भयो “१० वटा छोराछोरी पाए, कति त पेटमै मरे, ति पेटमा भएकाको त के सम्झना छ र? जन्मेका ५ जना बच्चाहरु फुतु फुतु मर्दा जस्तो पिडा केहि हुदो रहेनछ।“ मेरी हजुरआमाको कथा तारा, यमुना र पवित्राको भन्दा कति भिन्न छ कति समान। समान छन् पिडा, नारी भई जन्मनुको दुख, जीवन भर कुन्ठित भई बाँचेको सम्झना, भगवानको नाममा समाजले लिएको अनगिन्ती परीक्षा, पतिका पाईला मुनि दबीएका इच्छा, आकांक्षा र सपना।

‘सेतो धर्ती पारम्परीक पितृसतात्मक नेपाली समाजमा देखिने नारी विरोधी सोचको चर्को विरोध गर्ने उपन्यास हो। यस पुस्तकले बाल विवाह, अनमेल विवाह, बहु विवाहको उपेक्षा गरेको छ। तारा र उनकी बहिनीको विवाह  क्रमश ७ र ५ वर्षमा भएको छ, पवित्राको विवाह आफ्नो बुबा भन्दा २ महिना जेठा वृद्ध संग भएको छ, ताराको बुबा ४४ वर्षको हुँदा ११ वर्षकी बालिकासंग दोस्रो विवाह गर्छन्। यस्तो प्रथाले अनेकौ नारीका लागि कहरपूर्ण अवस्थाको श्रृजना गर्छ र कति महिला बालविधवा हुन्छन्। बालविधवा हुनुको पिडालाई ताराले ठाउँठाउँमा उल्लेख गरी रहन्छिन्। पृष्ठ २०९ मा “ जीवनको सहयात्री भनिएको मानिससंग न सहयात्रा भयो न सहकार्य, न सहबास भयो, न सम्भोग” जस्ता सन्दर्भले सबै पाठकका मनमा छुरा रोपे जस्तो हुन्छ।

अहिले सोच्दानै कहाली लाग्ने र कानूनले परित्याग गरेका बालबिवाह, अनमेल विवाह, बहु विवाह, पिडोफाईल, वैवाहिक करणी जस्तो प्रसंगलाई पौराणिक समयसंग तुलना गरी ठुलो असन्तुष्टि व्यक्त गरेको पनि पाईन्छ। विधवाहरुलाई समाजले अहिले पनि अलच्छिनी, लोग्ने टोकाहा, अशुभ भनि नकारात्मक भाव राख्छन्। तारा जस्तै अहिले पनि कैयौं विधवा यस्तो कुप्रथा र कुसोचको सिकार भई रहेका छन्। माहिलाले लेखपढ गरे बोक्सी बन्छन, पोइला जान्छन भन्ने त्यस समाजको धाराणा अहिले पनि नेपालको विभिन्न ठांउमा विद्यमान छन्। अहिले पनि धर्म ,संस्कृती, मूल्य र मान्यताको ढाल बनाई नारीलाई हेप्ने जमातको कमी छैन। गोडाको पानी खुवाउन तम्तयार पतीको पनि कमी छैन। कमी छ त केवल ति नारीको जो यो सामाजिक जकडबाट मुक्त भइ पंक्ष्री झै उड्न सक्छन्, सेती पुतली भई बस्न होईन, तारा झै आकासमा झिल्मिलाउन सक्छन्, धर्ती मै  बिलिन हुन होइन।

सेतो धर्ती स्मरणात्मक मनोबादमा आधारित पुस्तक हो। पुस्तकले पौराणिक यथार्थबादलाई स्थानिय भाषा , लवज र  शैली मार्फत सरल ढंगले प्रस्तुत गरेको छ। हरेक पात्रलाई र स्थानलाई विस्त्रृत रुपमा प्रस्तुत गर्दा पाठकले पात्रसंग अझ आत्मीय हुने मौका पाउँछन् ।

अतिनै गहन र संवेदलशील विषयलाई उठाउनु अनी त्यसलाई सरल सहज तवरबाट प्रस्तुत गर्न सक्नु लेखकको खुबी र कलाको प्रस्फुटन हो। त्यस्तै एक बालिकाको मनोविज्ञान, युवतीको यौनकुण्ठा र वृद्धाको प्रौढ मानोविज्ञानलाई हुबहु प्रस्तुत गर्नु पनि यस पुस्तकको अत्यन्त सवल पक्ष मान्न सकिन्छ। मनोविज्ञानमा आधारीत रहि सामाजिक यथार्थवादलाई केलाउनु, पित्रृसत्तात्मक परम्पराले जकडेको वैचारीकतालाई छिचोल्दै सोचमा क्रान्तिकारी परिवर्तन ल्याउनुले पनि यो पुस्तकको सापेक्षतामा जोड दिएको छ। पबित्राको छोरीले आफै केटा खोजी बिहे गर्नु ,गोबिन्दको नातीले केटी साथी लिई हजुरबुवा भेट्न आउनु, ,ताराकी बहिनीकी छोरीको ढिलो बिहे हुनु जस्तो प्रसङ्गले  प्रगतिशील समाजको चित्रण गरेको छ।

यति धेरै सबल पक्ष हुने पुस्तकहरु कमै हुन्छन् तर कहिलेकाहिँ बास्मती चामल मा पनि ढुङ्गा परी दिन्छ। लेखकले कुनै कुनै भागलाई अनावश्यक रुपले लम्ब्याउनु,  ताराको मनोभाबलाई उस्तै पारामा दोहोर्याई रहनुले पाठकलाई पट्टाई लाग्न सक्छ। एक पटक पढ्दा सो कुराले ठूलो प्रभाव पार्छ तर सोहि कुरा दोहोर्याई रहँदा त्यस विषयको मिठास कम हुदै जान्छ। कति ठाउँमा बालमनोविज्ञानलाई बोझीलो दार्शनिकताले ग्रहण लाईदिन्छ। सानो बालकको मस्तिस्कले दार्शनिकताको बोझलाई नथेगेको हो की जस्तो पनि लाग्छ। यस्तो पाटोलाई लेखकले अत्मसात गर्नुपर्ने आवश्यक छ तर, यस्ता साना तिना झीना मसीना कुरालाई पार लगाउने हो भने यो कृति एक सफल आख्यान र अमर रचना हो। 

अमर न्यौपानेको पहिलो कृती ‘पानीको घाम’ पढ्दानै उनले साहित्य जगतमा ठूलो छाप छोड्ने छन् जस्तो लागेको थियो। उनको दोस्रो कृती ‘सेतो धर्ती’बाट उनले केबल छाप मात्र छोडेनन् साँच्चीनै आफूलाई अमर बनाए।मदन पुरस्कार प्राप्त ‘सेतो धर्ती’ लाई लेखकले विभिन्न शिर्षकहरुमा भागवण्डा गरेर लेखेका छन्।पढ्दै जाँदा शीर्षकको भाग होईन कथाकि पात्रको जीवनको भाग लगाएको जस्तो लाग्छ। हरेक भागमा उनले साहित्यका सम्पूर्ण रसलाई निचोरेर अमृत निकाली पाठकलाई समेत अमर बनाएका छन।



Comments

Popular Posts